नेपाल मेडिकल कलेजमा हैजा अनुसन्धान प्रयोगशाला स्थापना
09/11/2023

 काठमाडौं, १७ भदौ । नेपाल मेडिकल कलेजमा हैजा अनुसन्धान प्रयोगशाला स्थापना भएको छ । कलेजको माइक्रोवायोलोजी विभागको अगुवाई, विश्वव्यापी रोग उन्मुलन कोष, कोरिया इन्टरनेशनल फण्ड, र इन्टरनेशनल भ्याक्सिन इन्स्टिच्युट कोरियाको सहयोगमाा ‘हैजा अनुसन्धान प्रयोगशाला’ स्थापना गरिएको हो ।


आइतबार उक्त प्रयोगशालाको उद्घाटन नेपाल मेडिकल कलेजका प्राचार्य प्रा.डा. प्रमोद कुमार क्षेत्रीले गर्दै नेपालका हैजाको अनुसन्धान तथा हैजा विरुद्धको खोपको प्रभावकारीताका बारेमा अध्ययन अनुसन्धान गर्न टेवा पुग्ने प्राचार्य क्षेत्रीले बताए । हैजा अनुसन्धानका लागि चाहिने अत्याधुनिक उपकरणहरु जडान सहित जैविक सुरक्षामा विशेष ध्यान दिएर यो प्रयोगशालाको स्थापना गरिएको हो ।

यो प्रयोगशालामा पहिलो चरणमा नेपालभरिबाट सङ्कलन गरिएका करिब चार हजार नमुना परिक्षण गरिनेछ । उक्त अनुसन्धानबाट नेपालीहरुमा हैजा विरुद्ध लड्न सक्ने क्षमताको साथै हैजा विरुद्धको खोपको प्रभावकारीता मुल्याङ्कन गर्न सकिने प्रयोगशाला प्रमुख कलेजका माइक्रोवायोलोजी विभागका उप–प्राध्यापक रामप्रसाद अधिकारीले बताए ।

उक्त अनुसन्धानका लागि डायरियाल डिजिज रिसर्चको लागि अन्तराष्ट्रिय केन्द्र, बंगलादेशबाट आएका वैज्ञानिकहरुले प्राविधिक तालीम दिएका थिए । नेपालमा पहिलो पटक गर्न लागिएको यस अनुसन्धानले हैजा रोग नियन्त्रण र यस विरुद्ध खोप विकास गर्न सहयोग पुग्ने आशा गरिएको छ ।
प्रयोगशाला उद्घाटन कार्यक्रममा कलेजका कलेजका अस्पताल निर्देशक डा. राजेशकिशोर श्रेष्ठ, निर्देशकद्वय जहाँगिर अन्सारी, डा. साविहा यास्मिन, प्रमुख प्रशासकीय अधिकृत ज्योती खड्का लगायत कलेजका प्राध्यापक, विभागीय प्रमुखहरुको सहभागीता रहेको अस्पताल इन्जार्च दिलिप साहले जानकारी दिए ।
Error